Wednesday, December 25, 2024

गुल्मीको छत्र कोटमा जिपलाइन निर्माण

NNI Coverage समाचार सेवा 

गुल्मी (लुम्बिनी)। गुल्मी जिल्लाको छत्र कोट गाउँपालिकाले जिपलाइन निर्माण गरेको छ। पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्र कोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरेको हो। गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्र कोटमा बसौँ वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण कार्यलाई तीव्र अगाडी बढाएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो। गाउँपालिकाको वडा नम्बर–३ को छत्र कोट देवालय मन्दिर भगवती मन्दिर–लुम्छा जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। 

पालिकाले पर्यटन प्रवर्द्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो। अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। १ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ। जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ। सुरु स्टेसन देखि ल्यान्डिङ हुने स्टेसनसम्म पुग्न अधिकत्तम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र हरि पुरीले बताउनुभयो। ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागत रहेको छ। लुम्बिनी प्रदेश सरकार र छत्र कोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो। जिपलाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताउनुभयो। पालिकाले निर्माण गरेको जिपलाइनको सम्पूर्ण तयारी पुरा गरेर शुक्रवारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ। छत्र कोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने पालिकाले लक्ष्य लिएको छ। पालिकाले निर्माण गरेको जिपलाइन नीजि क्षेत्रलाई सञ्चालन गर्नका लागि जिम्मा दिने तयारी पालिकाले लिएको गाउँपालिकाका उपाध्यक्ष सवित्रा ज्ञवालीले बताउनुभयो। जिपलाइन निर्माण स्थल रिडी–तम्घास राजमार्गको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयो। गाउँपालिकाको छत्र कोट देवालय मन्दिर अहिले पनि दैनिक सयौं नागरिक मन्दिर अवलोकन र वनभोज खान पुग्ने गर्दछन्। ती नागरिकको रमाइलो र साहसिक खेलका लागि पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिका उपाध्यक्ष ज्ञवालीले बताउनुभयो।

No comments:

Post a Comment